साढे २ महिनापछि २६०० विन्दुमुनि नेप्से, कारोबार रकम भने बढ्यो

Dec 19, 2024 03:08 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से घटेसँगै यस दिन २६०० विन्दुभन्दा तल झरेको छ।

नेप्से परिसूचक करिब साढे २ महिनापछि २६०० विन्दुभन्दा तल झरेको हो। यस अघि गत असोज १६ गते नेप्से २६०० विन्दुभन्दा तल बन्द भएको थियो। सोपश्चात यस दिन नै नेप्से २६०० विन्दुभन्दा तल झरेको थियो।

बिहीबार नेप्से परिसूचक ३१.४३ अंक घटेर २५९६.८२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ५५ हजार ९८९ पटकको कारोबारमा ४ अर्ब ७६ करोड २ लाख ६७ हजार रुपैयाँबराबरको ९८ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ३०२ रुपैयाँ ५० पैसा बढेर ३ हजार ३२७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशत बढेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.२१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १७ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन कर्णाली डेभलपमेन्ट बैंकको करिब साढे ११ करोडको शेयर खरिदबिक्री भएको छ भने नेपाल फाइनान्सको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.७३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २.३१ प्रतिशत घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।




comments powered by Disqus

सेबोनले कारोबारको विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित, सूचकमा पहिरो, ठूलो शेयर डिमाण्डमा समेत अंकुश ?

Dec 17, 2024 06:17 AM

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको कारोबार विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित बनेका छन्।