सातामा करिब २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Dec 14, 2024 06:41 AM Merolagani



यस साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७३४.९३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.९२ प्रतिशत अर्थात ५२.६४ अंक घटेर २६८२.२९ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये चार कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन नेप्से बढेको थियो। यस साताको बुधबार नेप्से करिब ४६ अंक बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ५.७९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०७ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ९ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ७४ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३६.७८ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या ३५.३७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३०.२१ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण १.९२ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ३६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८७ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ४९ अर्बमा झरेको छ।

१३ उपसमूहमध्ये यस साता १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.०७ प्रतिशत बढेको छ। गत साता ६७२६.५८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १३८.९२ अंक बढेर ६८६५.५० विन्दुमा पुगेको छ।

यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.९५ प्रतिशत घटेको छ। गत साता १३७५५.३५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ८१८.९३ अंक घटेर १२९३६.४२ विन्दुमा झरेको छ।

यस साता तीन कम्पनीको ३३ लाख ३१ हजार ५२३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता गुराँस लघुवित्त वित्तीय संस्था, अरुण भ्याली हाइड्रोपावर डभलपमेन्ट कम्पनी र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १३.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस साता माया खोला हाइड्रोपावर र मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ भने न्यादी हाइड्रोपावरको शेयरमूल्य करिब १२ प्रतिशत बढेको छ। कारोबारमा आएको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य यस साता सर्वाधिक २०.९६ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने साना किसान विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, थ्रिस्टार हाइड्रापावर, एनएमबि लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, बुकक्लोज कहिले?

Dec 09, 2024 10:43 AM

हिमालयन डिष्टिलरी लमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।