ठुला लगानीकर्ता त्रसित मात्रै भएका छैनन्, उनीहरूले शेयर सप्लाई समेत बढाउन थालेका छन्। जसका कारण सोमबार मात्रै दोस्रो बजारमा हाफ सेन्चुरीको पहिरो गयो। सोमबार दोस्रो बजार ५१.३७ अंकले घटेर २६३०.९१ अंकमा ओर्लियो। सोमबार शेयर बजार घट्नुमा नेपाल धितोपत्र बोर्डको प्रमुख भूमिका रहेको बताइएको छ। “सेबोनले ठूला लगानीकर्ताको कारोबारको फाइल माग्न थालेपछि लगानीकर्ता डराएका छन्। जसले गर्दा शेयर बजार घटेको हो,” लगानीकर्ता दीपेन्द्र अग्रवालले मेरो लगानीसँग भने।
सेबोनले कारोबार विवरण मात्रै मागिरहेको छैन,उसले निश्चित कम्पनीको शेयरमा अधिक माग देखिएको भए त्यस बारेमा समेत सोध खोज गर्न थालेको छ। सोमबार मात्रै जोशी जलविद्युत कम्पनीमा आठ लाख भन्दा बढी शेयरको माग रहेको थियो। जसलाई लिएर बोर्डले कसले त्यति धेरै शेयरको माग गरेको हो ? त्यसको विवरण पठाउन समेत ब्रोकर कम्पनीलाई मौखिक आदेश दिएको अग्रवालको दावी छ।
दोस्रो बजारमा माग र आपूर्तिले काम गर्छ। माग धेरै भए शेयरको मूल्य बढ्ने र थोरै भए घट्ने गर्छ। शेयरको मूल्य बढ्न डिमाण्ड आवश्यक हुन्छ। तर शेयरको अधिक माग गर्नेहरूलाई नै सेबोनले निगरानी गर्न थालेपछि ठूला लगानीकर्ता अत्तालिन थालेका छन्। ठूला लगानीकर्ताले ह्वात्तै शेयरको माग घटाएका छन्। जसले गर्दा शेयर बजार फराकिलो अंकले घट्न थालेको छ।
नियामक निकायले नै शेयरको माग बढाउनेलाई निगरानी गर्ने, ब्रोकर कम्पनीलाई प्रश्न गर्ने काम गर्न थालेपछि सिजनमा नै दोस्रो बजार सुस्ताउन थालेको छ। वर्षको दुई महिनालाई शेयर बजार बढ्ने सिजनको रुपमा लिइन्छ। साउन र मंसिर महिना दोस्रो बजार बढ्ने महिनाको रुपमा लिइन्छ। तर यति बेला नै असाध्यै धेरै निगरानी हुन थालेपछि शेयर बजार सुस्ताउन पुगेको निष्कर्ष लगानीकर्ताले निकालेका छन्।
दोस्रो बजारमा लो क्याप कम्पनीमा चलखेल हुने थालेको निष्कर्ष नेपाल धितोपत्र बोर्डको छ। उसले त्यसलाई निस्तेज पार्न निगरानी बढाएको जनाएको छ। तर माग र आपूर्तिले चल्ने बजारमा माग र आपूर्तिलाई नै प्रभावित पार्ने गरी लगानीकर्तालाई त्रसित पार्ने काम गर्नु बजार कै लागि घातक हुने केही ब्रोकर कम्पनीहरूले बताउँदै आएका छन्। धितोपत्र बजारको नियम भित्र रहेर माग गर्नेलाई रोक्न नहुने तर्क ब्रोकर कम्पनीहरू गर्छन्। “शेयर बजारको नियममा बसेर कारोबार गर्ने अधिकार सबै लगानीकर्तालाई छ। अर्कोतर्फ कुन शेयर किन्ने र बेच्ने भन्ने अधिकार पनि लगानीकर्तामा नै निहित हुन्छ। कसैले नियम भन्दा बाहिर गएर कारोबार गरेको पाइए त्यसलाई कारबाही गर्नु बोर्डको कर्तव्य हो। तर शेयर किनेकै आधारमा र शेयरको माग बढाएकै आधारमा ब्रोकर कम्पनीलाई दबाब दिनु ठिक होइन। कसले के कति शेयर किनेको र बेचेको भन्ने तथ्याङ्क नेप्से र सिडिएससिसँगै हुने भएकोले त्यतैबाट निगरानी गर्ने र दोषी पाइए कारबाही गर्ने काम गर्दा बेस हुन्छ। न कि ब्रोकर कम्पनी र लगानीकर्तालाई विना प्रमाण सोध खोज गर्नु उचित हुन्छ” एक ब्रोकर कम्पनीका सञ्चालकले भने।
उनका अनुसार लो क्याप र नन् फण्डामेन्टल कम्पनीको शेयरको मूल्य अधिक भएको वा ती कम्पनीको मूल्य अहिले जस्तो गरी नबढ्ने स्थिति बनाउनको लागि बोर्डले बढ्ने/ घट्ने प्रतिशत घटाउँदा बेस हुन्छ। निश्चित मापदण्ड बनाएर दुई देखि पाँच प्रतिशत मात्रै घट/बढ गर्न पाउने नियम बनाउनु पर्छ। अन्तर्राष्ट्रिय बजारमा पनि निश्चित मापदण्ड तोकेर घट/ बढमा निश्चित प्रतिशत मात्रै घट्न/ बढ्न दिने व्यवस्था हुने गरेका छन्।