आइतबार नेप्से परिसूचक १३.५३ अंक घटेर २५८३.२९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१९ स्टकको ५७ हजार ८६३ पटकको कारोबारमा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँबराबरको ९१ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ४ कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, बाराही हाइड्रोपावर पब्लिक, न्यादी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन पिपुल्स पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ६.४० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिभर फल्स पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन जानकी फाइनान्सको करिब १३ करोडको शेयर कारोबार भएको छ भने पिपुल्स पावरको ९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको हो। त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक यस दिन ०.६५ प्रतिशत बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी २.०५ प्रतिशत घटेको छ। कारोबारमा आएका वित्त, लगानी र व्यापार उपसमूहको परिसूचक भने यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।