नेप्सेले गिरावटलाई निरन्तरता दिएपछि सुस्तायो कारोबार

Dec 09, 2024 03:09 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १२.८४ अंक घटेर २६७६.१५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ।

नेप्से दैनिकजसो घट्न थालेपनि कारोबार रकम सुस्ताएको छ। अघिल्लो कारोबार दिन करिब साढे ७ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ६२ हजार ७५८ पटकको कारोबारमा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य सर्वाधिक ८.७६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ६.११ प्रतिशत बढेको छ। यस दिन स्वाभिमा लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २३७ रुपैयाँ ९० पैसा घटेर २ हजार १४१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। कारोबारमा आएको खानीखोला हाइड्रोपावरको शेयरमूल्य भने यस दिन ८.२१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड २७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब २८ करोडको शेयर किनबेच भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन्। यस दिन जोशी हाइड्रोपावरको करिब साढे १२ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, लगानी, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, बुकक्लोज कहिले?

Dec 09, 2024 10:43 AM

हिमालयन डिष्टिलरी लमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।