व्यापार उपसमूहमा करेक्सन, नेप्से पनि घट्यो

Dec 04, 2024 03:10 PM Merolagani



पछिल्ला ५ कारोबार दिनदेखि उच्च दरमा बढीरहेको व्यापार उपसमूहमा बुधबार करेक्सन देखिएको छ। पछिल्लो ५ कारोबार दिनमा यस उपसमूहको परिसूचक ३५४२.३६ विन्दुबाट बढेर ५३६२.३४ विन्दुसम्म पुगेको थियो।

यस दिन भने सो उपसमूहको परिसूचक सर्वाधिक ८.७२ प्रतिशत अर्थात ४६७.७६ अंक घटेर ४८९४.५७ विन्दुमा झरेको छ। यस उपसमूहको विशाल बजार कम्पनीको शेयरमूल्य घटेसँगै परिसूचक पनि उच्च दरमा घट्न पुगेको हो।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएका विकास बैंक, वित्त र जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेका छन्।

बुधबार नेप्से परिसूचक २४.९७ अंक घटेर २७५०.८७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.१८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ९६ हजार ६७७ पटकको कारोबारमा ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरका २ करोड ३ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन रिभर फल्स पावर, इंगवा हाइड्रोपावर र स्वाभिमा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने विशाल बजार कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे २९ करोडको शेयर खरिदबिक्री भएको छ भने आँखुखोला जलविद्युतको करिब २७ करोडको शेयर किनबेच भएको छ।




comments powered by Disqus

लक्ष्मी सनराइज बैंकको बोनस घोषणा

Dec 01, 2024 10:28 AM

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।