८ कारोबार दिनपछि २७०० विन्दुमुनि नेप्से, कारोबार रकम पनि घट्यो

Dec 08, 2024 03:12 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से घटेसँगै २७०० विन्दुभन्दा तल बन्द भएको छ। नेप्से परिसूचक पछिल्ले ८ कारोबार दिनपछि २७०० विन्दुमुनि बन्द भएको हो। यस अघि गत मंसिर १० गते नेप्से २७०० विन्दुभन्दा तल बन्द भएको थियो। सो दिन नेप्से २६८३.२४ विन्दुमा बन्द भएको थियो।

आइतबार नेप्से परिसूचक ४५.९३ अंक घटेर २६८९.०० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको ८१ हजार ४०४ पटकको कारोबारमा ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँबराबरको १ करोड ७३ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४२ रुपैयाँ ८० पैसा बढेर ४७१ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन दोल्ती पावर कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने १० प्रतिशत कुमारी बैंक डिबेञ्चर २०९० को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन तीन स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मानुषी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र जोशी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ६४ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्स र रिभर फल्स पावरको साढे १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने खानीखोला हाइड्रोपावरको करिब १४ करोडको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.०७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

छिमेक लघुवित्तको लाभांश घोषणा

Dec 05, 2024 10:16 AM

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।