ती मध्ये यसै साता फ्रान्सको सर्वाेच्च अदालतले जुन फैसला गर्यो, त्यसले वर्षको पछिल्लो अर्थात् डिसेम्बर महिनालाई नै ऐतिहासिक बनाइदियो । त्यस्तो फैसला जसले विश्वलाई तरंगित बनाएको छ र मानिसहरुमा कानुनी शासनमाथिको विश्वासलाई फेरि एक पटक जगाइदिएको छ । ‘ढिलो होला, कानुनले अपराधीलाई कठघरामा उभ्याएर छोड्छ’ भन्ने सन्देश विश्वभर फैलाएको छ ।
उक्त फैसला हो-जीजेल पेलिकोमाथि भएको बलत्कारका दोषीहरुलाई दिएको सजाय । पेलिकोले आफ्नै पति डोमिनिक पेलिकोले आफूलाई झुक्क्याएर लट्ठयाउने औषधि दिई नचिनेका मानिसहरूबाट झण्डै एक दशक बलत्कार गराएको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेकी थिइन् । उनले आफ्नो पतिले छोरी केरोलिन तथा २ जना बुहारी अरर र सेलिनमाथि पनि यौन शोषण गरेको आरोप लगाएकी थिइन ।
अदालतले उनका डोमिनिक पेलिकोसहित ५१ जनालाई दोषी ठहर गर्दै कसुर हेरी २० वर्षसम्मको जेल सजाय सुनाएको छ । बलत्कारको एउटा मुद्दामा त्यति ठूलो संख्यामा दोषिहरुमाथि कारवाही भएको अहिलेसम्मकै पहिलो घटना मानिएको छ ।
यो घटनाको अर्काे शसक्त पाटो के हो भने जीजेल पेलिकोले आफूलाई शुरुमै सार्वजनिक गरिन् । सामान्यतया बलत्कारको मुद्दाको पीडितहरु सार्वजनिक हुन डराउँछन् । तर जिजेलले आफू जस्तो अवस्था विश्वका कुनै पनि महिलाले भोग्नु नपरोस् भन्दै आफै घटनाको पर्दाफास गरिन,मुद्दा दायर गरिन् र अपराधमा संलग्न हरेकलाई कठघरामा उभ्याइन । उनको न्यायका लागि बोल्ने उनको अदम्य साहसको कदर गर्दै बीबीसीले उनलाई ‘वर्षका १०० महिला’ मा समावेश गरेको थियो ।
उनले मुद्दा दायर गरेको दिनदेखि नै विश्वभरका अधिकारवादीहरुले उनलाई साथ दिए । फ्रान्समा त दिनहुँ जसो उनको पक्षमा र अपराधीहरुमाथि कारवाहीको माग गर्दै जुलुस र धर्नाहरु भइरहे ।अन्ततः करिब ४ महिनाको निरन्तर सुनुवाई पछि उनले अदालतबाट न्याय पाएकी छन् र दोषीहरु जेल गएका छन् ।