यी दुबै कम्पनीहरुले पुस २६ गते, होटल र्याडिसन, लाजिम्पाट, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएका छन्। बोटलर्स नेपाल (तराई) को साधारण सभा दिउँसो १२ गते सुरु हुनेछ भने बोटलर्स नेपालको सभा दिउँसो ४ बजे शुरु हुनेछ।
बोटलर्स नेपाल (तराई) को ३८ औँ वार्षिक साधारण सभाले लाभांश प्रस्तावका साथै लेखापरक्षिक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
बोटलर्स नेपालको ४६ औँ वार्षिक साधारण सभाले लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ यी दुबै कम्पनीहरुले पुस १९ गते बुकक्लोज गर्ने भएका छन्। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बोटलर्स नेपाल (तराई) को साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् भने बोटलर्स नेपालका शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
लाभांशसम्बन्धि सुचना करिब १ महिना लुकाएका कारण नेप्सेले बोटलर्स नेपालको शेयर कारोबार रोक्का गरेको छ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलीपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नु पर्ने व्यवस्था रहेको छ। सो व्यवस्था पालना नगरेका कारण उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप नेप्सेले ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन सहित कम्पनीको शेयर कारोबार रोक्का गरेको हो।