यस दिन नेप्से परिसूचक ११.२४ अंक घटेर २७४८.९६ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५४ अंक घटेको छ। पछिल्ला दुई कारोबार दिनमा नेप्से परिसूचक ८४.६८ अंक बढेको थियो। बजार बढेको मौकामा अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो।
नेप्सेसँगै यस दिन भोल्यूम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ११ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ८२ हजार ५७० पटकको कारोबारमा ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटेपनि यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्था, मेन्छियाम हाइड्रोपावर, बेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन गुडविल फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ९.३६ प्रतिशत घटेको हो।
कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २९ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन बेष्ट फाइनान्सको पनि २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने आँखुखोला जलविद्युत कम्पनीको साढे २५ करोडबराबरको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशत बढेको छ भने निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत घटेको छ।