क्रिकेट मैदानमा फ्लडलाइट राख्ने निर्णयमा सरकारको तमासा, चौथो पटक बोलपत्र आव्हान, तर अझै पनि निर्माण हुनेमा शंका

Dec 22, 2024 06:04 PM mero lagani



नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता शनिबार सकिएकाेछ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान विकासमा सरकारले देखाइरहेको तमासाले खेलप्रेमीहरु लज्जित भएका छन्  ।

यसैक्रममा सरकारले सुक्रबारदेखि तेस्रो पटक त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्याराफिट निर्माण थाल्ने निर्णय गरेको छ । बोलपत्रअनुसार प्याराफिटका बनाउन १ करोड ६२ लाख र फ्लडलाइट जोड्न १ करोड ७३ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

ती काम अघि बढाउन इच्छुक निर्माण कम्पनीले आगामी माघ ६ गते मध्यान्ह १२ः ३० बजेसम्म बोलपत्र दर्ता गरिसक्नुपर्नेछ । त्यही दिन दिउँसो साढे १ बजे बोलपत्र खोलिने पनि मन्त्रालयले जनाएको छ ।

बोलपत्रको सृंखला

सरकारले पहिलो पटक २०८० वैशाखमा टेन्डर गरेकोमा ५ कम्पनीले आवेदन दिएका थिए । तर, मूल्यांकन समितिले सबैलाई अयोग्य ठहर गर्दै प्रस्ताव रद्ध गर्यो ।

त्यसपछि २०८० साउनमा अर्को पटक टेन्डर आह्वान भयो । ५ कम्पनीले आवेदन दिँदा कात्तिकमा तीमध्ये एउटा छनोट भयो । अरु कम्पनीले षडयन्त्रपूर्ण भएको आरोप लगाउँदै उच्च अदालतमा उजुरी दिएका थिए । अदालतले टेन्डर रद्द गर्न आदेश दिएपछि प्रकृया त्यत्तिकै रोकिएको थियो ।

तेस्रो पटक २०८१ वैशाख टेन्डर आह्वान गर्दा ४ निर्माण कम्पनीले बोलपत्र पेश गरे । तर मूल्यांकनमा सबै अयोग्य ठहर भए । त्यसपछि चौथो पटक शुक्रबार टेन्डर आह्वान गरिएको छ ।

स्मरणरहोस् तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ चैतमा ‘विश्वकप लिग २’ अन्तर्गत नेपाल र यूएईको खेल हेर्न पुगेका बेला दर्शकले ‘रङ्गशाला चाहियो’ भन्दै चर्को हुटिङ गरेका थिए ।

त्यसलगत्तै प्रचण्डले तत्काल फ्लड लाइट जडान अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका थिए । प्रचण्ड पुत्री गंगा दाहालले २०७९ चैत १२ गते फेसबुकमा फेक फोटो सेयर गर्दै त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान शुरु भइसकेको खबर सेयर गरेपछि त्यसको चर्काे विरोध भएको थियो । प्रचण्डले आफ्नो कार्यकालमा त्यसबारेमा कुनै काम गरेनन् ।

गत असार ३० गते प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले त्यसको भोलिपल्ट असार ३१ गते पहिलो बैठकले तीन सय दिनभित्र त्रिवि क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान र ‘प्याराफिट’ बनाइसक्ने निर्णय ग-यो ।
उक्त निर्णय भएको चार महिना पछि सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रियस्तरको प्याराफिट निर्माण र फ्लडलाइट जडानका लागि शुक्रवार बोलपत्र आह्वान गरेको छ ।

 

प्रधानमन्त्री विश्वस्तः खेलप्रेमी संशकित

‘क्रिकेट हाम्रो युवा, समाजको प्राण भएको’ बताउँदै प्रधानमन्त्री केपी ओलीले शुक्रबार सामाजिक सञ्जालमा आफूले प्रधानमन्त्रीको शपथ लिएको पहिलो दिन नै त्रिवि क्रिकेट मैदान सुविधासम्पन्न बनाउने निर्णय गरेको र त्यो अब कार्यान्वयन हुन लागेको दावी गरेका छन् ।

‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौँ । यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्कासहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गर्यौँ’, उनले भनेका छन्, ‘त्यसबेला क्यानका पदाधिकारीले पनि बरु अलिक समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौँ, हतार नगरौँ भन्ने सल्लाह दिनु भएको थियो । जग्गा प्राप्ति लगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लाग्यो । त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो’, ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले अनेक कारण देखाउँदै प्यारापिट निर्माण र फ्लडलाइट जडान हुने कुरामा विश्वस्त देखिए पनि खेलप्रेमीहरु भने अझै पनि आश्वस्त हुन सकेका छैनन् । हुन पनि पटक पटक निर्णय गर्ने र कार्यान्वयन नगर्ने सरकारी प्रवृत्तिले यस पटक पनि निरन्तरता पाउँदैन भन्ने ग्यारेण्टी भने छैन ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।