कम्पनी ऐन अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा गर्नुपर्छ । सो अनुसार अधिकांश कम्पनीहरुले साधारण सभा गरिसकेका छन् भने केही पुस मसान्त भित्र सम्पन्न गर्ने तयारीमा रहेका छन् । साधारण सभासँगै कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको प्रतिफल वितरण गर्ने सिजनको रुपमा पनि यो समयलाई लिने गरेको पाइन्छ । तुलनात्मक रुपमा विगतका वर्षमा जस्तो यो वर्ष कम्पनीले आकर्षण लाभांश वितरण गर्न नसकेको लगानीकर्ताहरुको भनाइ छ ।
पछिल्लो समय कम्पनीहरुले वितरण गर्ने प्रतिफलको आधारमा रहेर लगानी गर्न छाडेको लगानीकर्ता मनोज शाक्यले बताए । 'कम्पनी वितरण गर्ने लाभांश दर घटेको छ । लगानीको तुलनामा प्रतिफल अत्यान्त कम भएकाले लगानीकर्ताहरु बाध्य भएर बजारबाट पूँजीगत लाभलाई मध्यनजर लगानी गर्ने गरेको छन्,' उनले भने ।
शाक्यले भने जस्तै लभांश वितरण नगर्ने घोषणा गर्ने कम्पनीहरुको संख्या बढ्दो छ । दैनिक एक/दुई कम्पनीले लाभांश दिन नसक्ने सूचना सार्वजनिक गर्ने गरेका छन् । चालु आर्थिक वर्षमा १६ वटा कम्पनीले प्रतिफल वितरण नगर्ने घोषणा गरेका हुन । लाभांश वितरण नगर्ने घोषणा गर्ने मध्येमा धेरै दुई वाणिज्य बैंकसँगै सात लघुवित्त कम्पनी, दुई फानान्सहरु रहेका छन् । लाभांश दिन नसकेका वाणिज्य बैंकमा माछापुच्छे र एनएमबी बैंकले लाभांश नदिने घोषणा गरिसकेका छन भने अन्य केहि बैंक पनि वितरण गर्न नसक्ने अवस्थामा रहेको देखिन्छ ।
साथै, लघुवित्त कम्पनीहरुमा आरम्भ चौतारी लघुवित्त, हिमालयन लघुवित्त, लक्ष्मी लघुवित्त, निर्धन उत्थान लघुवित्त, युनिक नेपाल लघुवित्त, उन्नती सहकार्य लघुवित्त, विन नेपाल लघुवित्तले लाभांश वितरण गर्न नसक्ने सूचना सार्वजनिक गरिसकेका छन् । यो संख्या अझै थप हुने लगानीकर्ताहरुको भनाइ छ ।
विकास बैंक समुहबाट ज्योती विकास बैंक र फाइनान्स समूहबाट गुहेश्वरी र रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने भएका हुन । साथै, भिजन लुम्विनी उर्जा कम्पनी, चन्द्रगिरी हिल्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल इन्स्योरेन्स कर्पोरेसनले पनि यो वर्ष लाभांश नदिने भएका हुन ।
संस्थागत शुसासनमा रहेका कम्पनीहरुले आर्थिक वर्षको पहिलो ६ महिनामा साधारण सभा गर्नै पर्ने हुन्छ । कम्पनीहरुले वार्षिक साधारण सभा गर्ने भन्दा २१ दिन पूर्व नै सभा गर्ने मिति तय गरि सार्वजनिक गर्नु पर्ने व्यवस्था छ । सो अनुसार यो साता धेरै कम्पनीहरुले लाभांश घाेषणा गर्ने र वितरण गर्ने वा वितरण गर्न नसक्ने सूचना सहितको वार्षिक साधारण सभा आह्वान हुनसक्ने देखिएको हो ।