बीमा कम्पनीको शेयर बजारमा लगानी २९ अर्ब रुपैयाँ, जीवन बीमा कम्पनीको सबैभन्दा बढी

Dec 16, 2024 06:20 PM MeroLagani



बीमा कम्पनीहरुले नेप्सेमा सूचीकृत कम्पनीहरुको साधारण शेयरमा कुल लगानीको ३.८७ प्रतिशत लगानी गरेका छन् । 

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा, निर्जीवन बीमा, लघु जीवन बीमा र लघु निर्जीवन बीमा गरेर चालु आवको पहिलो त्रैमाससम्म ७ खर्ब ४८ अर्ब ६३ करोड २३ लाख रुपैयाँ रकम मुद्दती निक्षेप, डिबेञ्चर, शेयरलगायत विभिन्न क्षेत्रमा लगानी गरेकोमा २८ अर्ब ९४ करोड १८ लाख ७४ हजार रुपैयाँ भने शेयर बजारमा लगानी गरेका छन् ।

शेयर बजारमा सबैभन्दा बढी जीवन बीमा कम्पनीहरुले २४ अर्ब ८६ करोड ६३ लाख रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा कम्पनीहरुको बीमा कोष ठूलो हुने हुँदा त्यसै अनुसार पुँजी बजारमा पनि धेरै रकम लगानी हुने गरेका छन् । प्रतिशतको आधारमा हेर्दा भने यो जीवन बीमा कम्पनीहरुको कुल लगानीको ३.६७ प्रतिशत मात्रै रहेको छ । जीवन बीमा कम्पनीहरुको कुल लगानी पोर्टफोलियो भने ६ अर्ब ७७ अर्ब ५९ करोड २३ लाख रुपैयाँको छ जसमध्ये अधिकांश रकम वाणिज्य बैंकमा मुद्दती निक्षेपको रुपमा राख्ने गरिएको छ ।

जीवन बीमा कम्पनीमध्ये सबैभन्दा ठूलो लगानी पोर्टफोलियो नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ तर नेपाल लाइफले शेयर बजारमा भने कुल लगानीको १.९१ प्रतिशत मात्रै लगानी गरेकाे छ । प्रथम त्रैमासिकसम्म नेपाल लाइफले ३ अर्ब ३३ करोड ७३ लाख ४९ हजार रुपैयाँ नेप्सेमा सूचीकृत कम्पनीहरुको साधारण शेयर खरिद गरेर राखेकाे छ ।

लगानी पोर्टफोलियोको आधारमा सबैभन्दा धेरै लगानी भने हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई आफ्नो लगानीको १० प्रतिशतसम्म रकम शेयर बजारमा लगानी गर्न छुट दिएको छ । सोही अनुसार हिमालयन लाइफकाे कुल ६९ अर्ब ६२ करोड ९३ लाख रुपैयाँ लगानी पोर्टफोलियो मध्ये ७ अर्ब ६ करोड रुपैयाँ रकम शेयर बजारमा लगानी छ । प्रथम त्रैमाससम्म १४ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा कम शेयर बजारमा लगानी सानिमा रिलायन्स इन्स्योरेन्सको ५८ करोड २८ लाख रुपैयाँ मात्रै रहेको छ । जीवन बीमा कम्पनीहरुमा मेट लाइफले शेयर बजारमा कुनै लगानी गरेको छैन । लगानी प्रतिशतको आधारमा शेयर बजारमा सबैभन्दा कम लगानी नेसनल लाइफ इन्स्योरेन्सको रहेको छ । नेसनल लाइफको ६५ अर्ब ६१ करोड ६९ लाख रुपैयाँको लगानी पोर्टफोलियोमध्ये शेयर बजारमा ६८ करोड ६५ लाख ९१ हजार रुपैयाँ मात्रै लगानी छ।

त्यसैगरी निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ६ करोड २५ लाख ७७ हजार रुपैयाँ शेयर बजारमा लगानी गरेका छन जुन कुल लगानी पोर्टफोलियाको ६ दशलब ०३ प्रतिशत हुन आउँछ । १४ वटा निर्जीवन बीमा कम्पनीहरुको संयुक्त लगानी पोर्टफोलियो ६७ अर्ब ३४ करोड ४ लाख रुपैयाँ रहेको छ ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये दी ओरियन्टल इन्स्योरेन्स र नेसनल इन्स्योरेन्सले शेयर बजारमा लगानी गरेका छैनन । यी दुई कम्पनीले प्राथमिक शेयर निष्काशन पनि गरेका छैनन् ।

निर्जीवन बीमा कम्पनीमा सबैभन्दा ठूलो लगानी पोर्टफोलियो सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको रहेको छ । कम्पनीको ८ अर्ब ५४ करोड ३३ लाख रुपैयाँको लगानी पोर्टफोलियो रहेकोमा त्यसको ५.९५ प्रतिशत अर्थात ५० करोड ८६ लाख रुपैयाँ शेयर बजारमा लगानी छ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये रकमको आधारमा राष्ट्रिय बीमा कम्पनीको शेयर बजारमा अधिक लगानी रहेको छ । कम्पनीको ७ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ लगानी पोर्टफोलियो रहेकोमा त्यसको ७९ करोड ४१ लाख रुपैयाँ शेयर बजारमा लगानी रहेको छ ।

शेयर बजारमा सबैभन्दा कम लगानी भने एनएलजी इन्स्योेरेन्सको रहेको छ । कम्पनीको २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ लगानी पोर्टफोलियो रहेकोमा ६ करोड ३६ लाख रुपैयाँ मात्रै शेयर बजारमा लगानी रहेको छ ।

लगानी प्रतिशतको आधारमा भने नेपाल इन्स्योरेन्सको शेयर बजारमा सबैभन्द कम लगानी रहेको छ। कम्पनीको ४ अर्ब २६ करोड ८७ लाख रुपैयाँ लगानी पोर्टफोलियो रहेकोमा त्यसको ६ करोड ८५ लाख रुपैयाँ मात्रै शेयर बजारमा लगानी छ ।

लघु बीमा कम्पनीहरुमध्ये एउटा लघु जीवन बीमा कम्पनी र एउटा निर्जीजन लघु बीमा कम्पनीले पनि शेयर बजारमा लगानी गरेको तथ्यांकमा उल्लेख छ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले १ करोड २६ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेकाे छ जुन कुल लगानी २.४२ प्रतिशत हुन आउँछ । कम्पनीको कुल लगानी पोर्टफोलियो ५२ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी निर्जीवन लघुबीमातर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्सले १३ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेकाे छ। कम्पनीको कुल लगानी पोर्टफोलियो भने ५० करोड ६३ लाख रुपैयाँ रहेको छ ।




comments powered by Disqus

एचआईडिसिएलको लाभांश घोषणा

Dec 11, 2024 10:20 AM

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) (HIDCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।