४ महिनामा झन्डै ३६ हजार बीमा पोलिसी सरेन्डर, पौने ५ अर्ब बाहिरियो

Dec 09, 2024 11:04 AM MeroLagani



अर्थतन्त्र चलायमान नभएर व्यक्तिको आम्दानीमा विस्तारै गिरावट आउन थालेपछि त्यसको असर जीवन बीमा पोलिसीमा परेको छ । आम्दानी गिरावटसँगै जीवन बीमा पोलिसी सरेन्डर गर्नेको संख्या बढ्दै गएको छ ।

आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ३५ हजार बढी पोलिसी सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कात्तिक महिनासम्ममा ३५ हजार ९८५ वटा पोलिसी सरेन्डरबापत् ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको हो ।

जीवन बीमा पोलिसी लामो अवधिको हुन्छ। उक्त पोलिसीमा तोकिएको समय (त्रैमासिक/अर्धवार्षिक/वार्षिक) रुपमा केही रकम प्रिमियमस्वरुप तिर्नुपर्ने हुन्छ । आवधिक रुपमा पोलिसी तिर्न नसक्ने अवस्थामा बीमा गर्ने व्यक्तिले उक्त बीमालाई निरन्तरता नदिईकन बीचैमा बन्द गर्ने अवस्थालाई पोलिसी सरेन्डर भन्ने गरिन्छ । पोलिसी सरेन्डर गर्दा बिमितले पाउनुपर्ने रकमबाट केही प्रतिशत रकम बीमा कम्पनीले काटेर मात्रै बिमितलाई बाँकी रकम हस्तारन्तरण गर्ने गरिन्छ ।

बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधिका कारण बीमा पोलिसी सरेन्डरको दर बढ्दै गएको हो । बीमा एजेन्टले बीमाको सकारात्मक पक्षको बारेमा मात्रै बढाई चढाई वर्णन गर्ने र सकेसम्म धेरै रकमको बीमा गराउने परिपाटी छ । पहिलोपटक बीमा एजेन्टले पनि मोटो रकम कमिसनको रुपमा हात पार्ने गर्दछ । बीमासम्बन्धी जानकारहरुका अनुसार बीमा एजेन्टले आफ्नो आम्दानीको कति प्रतिशतसम्म बीमा प्रिमियममा खर्च गर्ने भन्ने बारे पर्याप्त जानकारी नदिँदा पछि बीमा प्रिमियम तिर्न नसकेर सरेन्डर गर्नेहरु बढेको बताउँछन ।

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये समिक्षा अवधिमा एलआइसी नेपालको पोलिसी सरेन्डर सर्वाधिक देखिएको छ । एलआइसी नेपालको १० हजार ४८ वटा पोलिसी बराबर १ अर्ब ५७ करोड ६६ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

त्यस्तै, नेपाल लाइफको ८ हजार ४०८ वटा बीमा पोलिसी वापत १ अर्ब ३७ करोड ४० लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको ३ हजार ८७५ वटा बीमा पोलिसी वापत ३७ करोड ४१ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो । एशियन लाइफको २६ सय २३ वटा बीमा पोलिसी वापत २७ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । नेसनल लाइफको १९ सय ७९ वटा पोलिसी वापत २९ करोड ३१ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । एसियन लाइफ इन्स्योरेन्सको २६ सय २३ वटा पोलिसी सरेन्डर हुँदा २७ करोड ९६ लाख रुपैयाँ बराबरको रकम बाहिरिएको छ । त्यस्तै नेसनल लाइफको १९ सय १९ वटा पोलिसी परित्याग हुँदा २९ करोड ३१ लाख रुपैयाँ रकम बाहिरिएको छ ।

सूर्यज्योति लाइफको १९ सय १० वटा पोलिसी वापत २३ करोड ११ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । मेट लाइफको १२ सय ४५ वटा बीमा पोलिसी वापत १३ करोड ५३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । सानिमा रिलायन्स लाइफको ६६३ वटा पोलिसी वापत ९ करोड ३१ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।

पुराना जीवन बीमा कम्पनीहरुको पोलिसी सरेन्डर दर बढी छ भने तुलनात्मक रुपमा नयाँ कम्पनीहरुको पोलिसी सरेन्डर दर कम रहेको तथ्यांकले देखाएको छ । तुलनात्मक रुपमा नयाँ सन नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायल नेपाल लाइफ, आईएमई लाइफलगायतको सरेन्डर दर कम रहेको देखिन्छ ।

आइएमई लाइफको ५८७ वटा बीमा पोलिसी वापत ६ करोड ५४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सिटिजन लाइफको ९०३ वटा बीमा पोलिसी वापत ६ करोड ५२ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । प्रभु महालक्ष्मी लाइफको ४३२ वटा बीमा पोलिसी वापत ५ करोड ४९ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । रिलायबल नेपाल लाइफको ५८२ वटा बीमा पोलिसी वापत ३ करोड ६३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको २३२ वटा बीमा पोलिसी वापत २ करोड २९ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।




comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, बुकक्लोज कहिले?

Dec 09, 2024 10:43 AM

हिमालयन डिष्टिलरी लमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।