तिहार अघि ३२ कम्पनीले गरे लाभांश घोषणा, नगद भन्दा बोनसमा जोड, कसको कति ? (सूचीसहित)

Nov 03, 2024 07:11 AM MeroLagani



सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणाको रफ्तार बढाउन थालेका छन् । तिहार अगाडिसम्म ३२ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।

अहिलेसम्म क्षेत्रगत रुपमा सबैभन्दा धेरै ११ वटा हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरिसकेका छन् भने त्यसपछि माइक्रोफाइनान्सका ९ वटा कम्पनी, बैंक समूहका ७ वटा, होटल समूहका २, इन्भेष्टमेन्ट समूहका २ वटा कम्पनी र उत्पादनमूलक समूहको एक वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । अहिलेसम्म एउटा माइक्रोफाइनान्स र लगानी समूहको कम्पनीले लाभांश नगर्ने घोषणा गरेको छ ।

अहिलेसम्म उत्पादन तथा प्रशोधन समूहमा रहेको युनिलिभर नेपालले सबैभन्दा बढी १७ सय १४ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् । कम्पनीले हरेक वर्ष प्रति कित्ता १ हजार भन्दा बढी नगद लाभांश दिँदै आएकोमा यस वर्ष भने अहिलेसम्मकै सबैभन्दा बढी नगद लाभांश घोषणा गरेको हो ।
दोस्रो धेरै लाभांश दिने कम्पनीमा होटल समूहको सोल्टी होटल परेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र २६.८४ प्रतिशत नगद लाभांश गरेर ३६.८४ प्रतिशत लाभांश दिएको हो । सोल्टीको अंकित मूल्य १० रुपैयाँ मात्रै हो ।

तेस्रो धेरै लाभांश दिने कम्पनीमा वाणिज्य बैंक समूहबाट स्ट्यान्डर्ड चार्टर्ड बैंक परेको छ । कम्पनीले साढे ६ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश गरेर कुल साढे २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

त्यस्तै एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश गरेर कुल १५.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
वाणिज्य बैंक समूहमा एभरेष्ट र स्ट्यान्डर्डसँगै ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंकले पनि बोनस शेयर दिएका छन् । ग्लोबल आईएमईले साढे ५ प्रतिशत बोनस शेयर दिएको छ भने सिटिजन्सले ४ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनको लागि शून्य दशमलब २१ प्रतिशत नगद लाभांश दिएको छ । यसपटक नबिल बैंक , प्राइम कमर्सियल बैंक र सानिमा बैंकले भने नगद लाभांश मात्रै दिएका छन् । नबिल बैंकले १० प्रतिशत, प्राइम कमर्सियल बैंकले ५ प्रतिशत र सानिमा बैंकले ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

वित्तीय क्षेत्रअन्तर्गतकै गुराँस लघुवित्त, आशा लघुवित्त, स्वावलम्बन लघुवित्त, नेसनल लघुवित्तले राष्ट्र बैंकले तोकेको अधिकतम सीमाको अधिनमा रहेर लाभांश घोषणा गरेका छन् । राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई १५ प्रतिशतसम्म मात्रै लाभांश वितरण गर्न छुट दिएको छ । १५ प्रतिशतभन्दा बढी लाभांश बाँडनु परेमा ग्राहक संरक्षण कोष, सामािजक उत्तरदायित्व कोषलगायतका विविध कोषहरुमा तोकिएको रकम छुट्याएपछि मात्रै वितरण गर्न पाइने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
गुराँस, आशा, स्वावलम्बन र नेसनल लघुवित्त चार वटै कम्पनीले १४.२५ प्रतिशत बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका हुन ।

त्यस्तै सपोर्ट लघुवित्तले १३.७७५ प्रतिशत बोनस शेयर र ०.७२५ प्रतिशत नगद लाभांश गरेर १४.५ प्रतिशत, फवार्ड माइक्रोफाइनान्सले १३.३ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो । आरएसडीसीले साढे प्रतिशत बोनस शेयर र फस्ट माइक्रोफाइनान्सले ९ प्रतिशत बोनस शेयर दिएको छ । त्यसैगरी कर प्रयोजनको लागि दुवै कम्पनीले शून्य दशमलम ५ प्रतिशत र शून्य दशमलब ४७ प्रतिशत नगद लाभांश समेत घोषणा गरेको छ ।

हाइड्रोपावर कम्पनीहरुले ३ देखि १५ प्रतिशतसम्म लाभांश प्रस्ताव गरेका छन् । अधिकांश हाइड्रोपावर कम्पनीले बोनस शेयरमै जोड दिएका छन् । लाभांश घोषणा गरेका ११ वटा हाइड्रोपावर कम्पनीमध्ये १ वटा कम्पनीले मात्रै नगद लाभांशमा जोड दिएको छ । माण्डु हाइड्रोपावर १२ प्रतिशत नगद लाभांश मात्रै घोषणा गरेको छ । अपि पावरले ५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनको लागि शून्य दशमलब २६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । शुरुमा ९ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको भए पनि विद्युत नियमन आयोगले सो अस्वीकृत भएपछि कम्पनीले लाभांश दर केही घटाएको हो ।

त्यस्तै रुरु हाइड्रोपावरले १५ प्रतिशत बोनस र शून्य दशमलब ७८९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने साहस ऊर्जाले ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । विन्द्यवासिनी हाइड्रोपावरले ८ प्रतिशत बोनस शेयर मात्रै घोषणा गरेको छ । त्यसमा कर प्रयोजनको लागि नगद लाभांश घोषणा नगरेको हुँदा सानो रकमको करको लागि लगानीकर्ता क्यापिटल धाउनुपर्ने अवस्थाको सिर्जना हुने देखिन्छ । सुरपरमाई हाइड्रोपावरले ७ प्रतिशत बोनस र ५.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने भगवती हाइड्रोपावरले पनि ४ प्रतिशत बोनस र १०.७३ प्रतिशत नगद लाभांश गरेर कुल १४.७३ प्रतिशत लाभांश घोषणा गरेको हो । यता अरुण भ्याली हाइड्रोपावरले ३ प्रतिशत बोनस र त्यसमा लाग्ने ०.१५७ नगद लाभांश गरी ३.१५ प्रतिशत लाभांश घोषणा गरेको छ।

इन्भेष्टमेन्ट समूहबाट हाथवे इन्भेष्टमेन्ट नेपाल र सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । दुवै कम्पनीले बोनस शेयरमै जोड दिएका छन् । हाथवेले १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने सीइडीबी हाइड्रोपावरले ११ प्रतिशत बोनस शेयर मात्रै घोषणा गरेको छ । त्यसमा लाग्ने कर आफैले व्यवहोर्ने सूचना कम्पनीले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ । लगानी समूहकै नेपाल इन्फ्रास्ट्रचर बैंकले भने गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेको छ ।

होटल समूहबाट ओरियन्टल होटल्स र सोल्टी होटलले मात्रै लाभांश घोषणा गरेको छ । ओरियन्टलले ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।




comments powered by Disqus

नबिल बैंकको लाभांश घोषणा

Oct 30, 2024 10:04 AM

नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।