सिमेन्ट निर्यात ४२ प्रतिशतले घट्यो, किन घट्यो सिमेन्टको निर्यात ?

Oct 24, 2024 12:11 PM MeroLagani



नेपालको व्यापार घाटा कम गर्न योगदान गर्न सक्ने मानिएको सिमेन्टको निर्यात चालु आर्थिक वर्षमा व्यापक घट्न थालेको हो । चालु आवको पहिलो तीन महिनामा सिमेन्टको निर्यात ४२.२७ प्रतिशतले घटेको छ ।

चालु आवको असोज मसान्तसम्म ४९ करोड २४ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर (अप्रशोधित सिमेन्ट) भारत निर्यात भएको छ जब कि गत आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ८५ करोड ३० लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर भारत निर्यात गरेको थियो ।

भारतमा सिमेन्टको माग अत्यधिक भए पनि भारतले विभिन्न बहाना बनाएर सिमेन्ट आयातमा बखेडा झिक्नु तथा नेपालकै आन्तरिक कारणले समेत सिमेन्ट निर्यातमा गिरावट आएको बताइएको छ । नेपालबाट कुनै वस्तुको भारततर्फका निर्यातको ग्राफ बढ्न थालेमा विभिन्न बखेडाहरु झिकेर भारतले त्यसलाई रोक्न प्रयास गर्ने गरेको छ । यसपटक पनि माथिको आदेश भन्दै नेपालको सिमेन्टलाई भारत प्रवेशमा अवरोध खडा गरिएको सिमेन्ट उत्पादकहरु बताउँछन् । सिमेन्ट उद्योगी र नेपाल विद्युत प्राधिकरणबीचको बिजुलीको महसुल तिर्ने विषयमा पटक पटकको विवाद तथा पटक पटकको उद्योगको लाइन काट्ने गर्दा पनि सिमेन्ट उत्पादनमा असर परेको बताउँदै यसले पनि सिमेन्टको निर्यातमा असर परेको एक उद्योगीले मेरो लगानीलाई बताए ।

गत वर्षको भदौ मसान्तसम्म १ लाख ५५ हजार २ सय ४८ मेट्रिक टन क्लिकर र ६ लाख ९ हजार ४ सय ४८ मेट्रिक टन सिमेन्ट गरी ८५ करोड ३० लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिकर भारत निर्यात भएको थियो । चालु आवको भदौ मसान्तसम्म भने १८ हजार ३ सय ८ मेट्रिक टन क्लिंकर र २ लाख २३ हजार १ सय ८८ मेट्रिक टन सिमेन्ट गरेर कुल ४९ करोड २४ लाख रुपैयाँको मात्रै सिमेन्ट र क्लिंकर भारत निर्यात भएको छ । गत वर्ष ५ लाख ६ हजार ८ सय ४१ मेट्रिक टन क्लिंकर र २३ लाख ३२ हजार ३ सय ७६ मेट्रिक टन सिमेन्ट गरेर कुल ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको सिमेन्ट भारत निर्यात भएको थियो ।

नेपाल सिमेन्ट उत्पादक संघका अनुसार सरकारको प्राथमिकतामा सिमेन्ट उद्योग पर्याप्त रूपमा नपरेकोले अपेक्षा गरेजस्तो निर्यात हुन नसकेको हो । सरकारले नीतिगत सुधार गरेर मात्रै सिमेन्टलाई भारतलगायत अन्य मुलुकसम्म बढी मात्रामा निर्यात गर्न सकिन्छ । यस वर्षको सुरुवातमै सिमेन्ट निर्यातको कमीको मुख्य कारणहरूमा मुलुकभित्रको बढ्दो खपत र विकास निर्माणका कामहरू विस्तारै फस्टाउँदै जानु पनि एक कारण रहेको एक ब्यवसायीले बताए । उनले भने, ‘नेपालमा विकास निर्माणका काम ठप्प भएकाले आन्तरिक खपत ओरालो लागि रहेको थियो । तर, अहिले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आइरहेको छ । स्वदेशमा नै खपत हुन थालेपछि भारतमा निर्यातमा कमी आएको हो ।’ गत वर्ष आन्तरिक बजारमा खपत घटेपछि व्यवसायीहरू निर्यात तर्फ आकर्षित भएका थिए । तर, अहिले नेपालमा विकास निर्माणका कामहरू अघि बढेसँगै व्यवसायीहरू स्वदेशमै सिमेन्टको बिक्री र प्रतिस्पर्धामा झुम्मिन थालेका छन् ।

अर्काथरी व्यवसायी भने सरकारले नै समय समयमा उद्योगको बिजुली काटेर उद्योगको उत्पादन ठप्प पार्ने काम गरेको छ जसले गर्दा उत्पादनमा कमी आई निर्यात समेत प्रभावित गरेको बताए ।
हाल नेपालबाट सिमेन्ट उत्पादन गर्ने प्रमुख कम्पनीहरू–घोराही, बालाजी, तानसेन, अर्घाखाँची, र सिजी सिमेन्ट–भारततर्फ निर्यात हुँदै आएका छन् । भारतीय बजारमा नेपाली सिमेन्टको माग बढाउन सिमेन्ट व्यवसायीहरूले विभिन्न किसिमका विज्ञापनहरू पनि गरिरहेका छन् । विशेष गरी अर्घाखाँची, सर्वोत्तम र पाल्पा सिमेन्टले भित्ते विज्ञापनमार्फत आफ्नो बजार विस्तार गर्न खोजिरहेका छन् ।

नेपालमा सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थ, चुनढुङ्गा, प्रशस्त मात्रामा पाइन्छ। यद्यपि, सिमेन्ट उद्योगले ठूलो सम्भावना हुँदाहुँदै पनि अपेक्षा गरेजस्तो प्रगति गर्न सकेको छैन। यसको मुख्य कारण सरकारी नीतिगत समर्थनको कमी रहेको व्यवसायीहरूको भनाइ छ ।
सिमेन्ट निर्यात घट्नुले मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न योगदान गरिरहेको एक प्रमुख क्षेत्रमा धक्का पुर्याएको छ । यसका साथै, व्यवसायीहरू सरकारी समर्थन र प्रोत्साहनको खाँचो महसुस गरिरहेका छन्, जसले उद्योगलाई अझ प्रतिस्पर्धात्मक बनाउन सक्नेछ । सिमेन्ट उद्योगमा अझ धेरै सम्भावना रहेकोले, व्यवसायीहरूले निर्यातमा पुनः वृद्धि हुने आशा राखेका छन् । मुलुकभित्रका निर्माणकार्यहरूमा सिमेन्टको खपत बढेसँगै उद्योगले उत्पादन क्षमता वृद्धि गर्दै भविष्यमा निर्यातमा पनि वृद्धि गर्ने योजनामा रहेको छ ।




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।