गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खराब कर्जा औसतमा ३.३९ प्रतिशत रहेको थियो। गत आर्थिक वर्षकै चौथो त्रैमाससम्ममा आइपुग्दा बैंकहरुको खराब कर्जा बढेर ३.५३ प्रतिशत पुगेको थियो। अहिले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकहरुको खराब कर्जा औसतमा ३.७१ प्रतिशत पुगेको छ।
यसले पछिल्लो समय बैंकहरुको खराब कर्जा अझै निरन्तर बढीरहेको देखाउँछ। राष्ट्र बैंकको सहुलियतले सम्भावित जोखिमबापत छुट्याउनु पर्ने पैसा घटेपनि बैंकहरुको खराब कर्जा भने बढ्दो अवस्थामा नै देखिएको छ।
- ३ बैंकको खराब कर्जा ५ प्रतिशत माथि पुग्यो
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ वटा बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा पनि माथि पुगेको छ। तथ्याँक अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा सबैभन्दा धेरै ५.८४ प्रतिशत पुगेको छ भने लक्ष्मी सनराइज बैंकको ५.४४ प्रतिशत र सिटिजन्स बैंकको खराब कर्जा ५.४१ प्रतिशत पुगेको छ।
यसैगरी हिमालयन बैंकको पनि खराब कर्जा ४.९८ प्रतिशत छ भने कुमारी बैंकको खराब कर्जा ४.९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम बैंकको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ प्रतिशत र ग्लोबल आइएमई बैंकको ४.६७ प्रतिशत रहेको छ।
यता एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०.७७ प्रतिशत छ भने माछापुच्छ्रे बैंकको १.१३ प्रतिशत, सानिमा बैंकको १.३८ प्रतिशत र नबिल बैंकको १.४२ प्रतिशत छ।
पछिल्लो समय आर्थिक मन्दीले गर्दा बैंकहरुको कर्जा असुलीमा समस्या आउँदा खराब कर्जा बढ्दै गएको हो। बैंकहरुको कर्जा उठ्न नसक्दा धेरै धितो लिलामीमा निकालेका थिए। लिलामीमा निकालेको धितो समेत बिक्री नभएपछि बैंकहरु आफैले सकारीरहेका छन्। यसले गर्दा बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति पनि बढ्दै गएको छ।
बैंकहरुले खराब कर्जामा नियन्त्रण गर्न नसके उनीहरुको आगामी वर्ष लाभांश रोकिन सक्ने देखिएको छ। अहिले नै ३ वटा बैंकको खराब कर्जा ५ प्रतिशत माथि छ भने अन्य धेरै बैंकको ५ प्रतिशत नजिक पुगेको छ।
बैंकहरुको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेमा केन्द्रीय बैंकले शिघ्र सुधारात्मक कारवाही गर्ने छ। जसले बैंकलाई लाभाशं वितरणमा समेत रोक लाग्ने छ।