बैंकहरुको आम्दानीमा छैन सुधार, राष्ट्र बैंकको सहुलियत र रिकभरीले मात्रै बढ्यो नाफा

Oct 23, 2024 01:51 PM Merolagani



अघिकाँश वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षकाे तुलनामा नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेका छन्। बैंकहरुले औसतमा २१.६३ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेका हुन्।

बैंकहरुको नाफा बढेको देखिएपनि उनीहरुको आम्दानी भने खासै बढेको देखिदैन। गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकाँश बैंकहरुको खुद ब्याज आम्दानी घटेको छ भने धेरै बैंकको सञ्चालन आम्दानी समेत घटेको अवस्था छ।

बैंकहरुको नाफा बढ्नुमा नेपाल राष्ट्र बैंकको सहुलियत र बैंकहरुले सम्भावित जोखिमबापत छुट्याएको रकम फिर्ता हुँदा उनीहरुको नाफा बढेको देखिन्छ। अधिकाँश बैंकको सम्भावित जोखिमवापत छुट्याएको रकम घटेको छ। जसले गर्दा उनीहरुको नाफा बढाउन केहि सहयोग पुर्याएको छ।

बैंकहरुको मुख्य आम्दानीको स्रोत भनेको ब्याज हो। तर प्रथम त्रैमासिक विवरणले सो आम्दानी नै बढ्न नसकेको देखाउछ। अहिले बैंकहरुमा अधिक तरलता रहेको कारण पनि खुद ब्याज आम्दानी बढ्न नसकेको बैंकरहरु बताउछन्।

बैंकहरुले निक्षेपकर्तासँग लिएको निक्षेपलाई केहि प्रतिशत बढी ब्याजमा कर्जाको रुपमा लगानी गरी नाफा कमाउने गर्छन तर अहिले निक्षेपकर्तासँग लिएको रकम कर्जाको रुपमा लगानी गर्न नसक्दा बैंकमा नै धेरै पैसा थुप्रिएको छ। जसले गर्दा उनीहरुले निक्षेपकर्तालाई ब्याज तिरिरहनु परेको छ भने कर्जा दिएर आम्दानी गर्न सकेका छैनन्। अहिले बैंकहरुसँग करिब ७ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ। यति धेरै लगानीयोग्य रकम बैंकमा नै थुप्रिएर बसेपछि बैंकहरुको आम्दानी घट्न पुगेको हो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुको नाफा बढ्ने गरी केहि लचक व्यवस्था गरिदिएको थियो। केन्द्रीय बैंकले असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो, जसले गर्दा बैंकहरुले छुट्याएको सम्भावित जोखिमबापतको केहि रकम  फिर्ता भएको छ।

आर्काेतर्फ निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था गरेको थियो। यसले गर्दा पनि बैंकहरुको नाफा बढ्न केहि सहयोग पुगेको छ।

गत वर्षको तुलनामा यस वर्ष बैंकहरुको रिकभरी समेत केहि बढेको देखिन्छ जसले गर्दा नाफा केहि बढेको छ। यस पटक बैंकहरुको नाफा उनीहरुको आम्दानी बढेको कारणले भन्दा पनि यसअघि नै कमाएकाे नाफालाई सम्भावित जोखिमबापत छुट्याएको र त्यो नाफा अहिले फिर्ता हुँदा पहिलो त्रैमासमा नाफा बढेको देखिन्छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ अर्ब ५६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका बैंकहरुले चालु आर्थिक वर्षको सोहि अवधिमा ४६ अर्ब ५४ करोड रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेका छन्। जुन ६.०८ प्रतिशतले कम हो। बैंकहरुले प्रकाशित गरेका वित्तीय विवरण अनुसार दर्जन बढीको खुद ब्याज आम्दानी घटेको छ।

यसैगरी गत आर्थिक वर्षकाे पहिलो त्रैमासमा ६१ अर्ब २ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेका बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ अर्ब ९४ कराेड रुपैयाँ रुपैयाँ कुल सञ्चालन आम्दानी गरेका छन्। जुन १.८ प्रतिशतले कम हो।

बैंकहरुको मुख्य आम्दानीका स्रोतहरुको आम्दानी घट्ने तर नाफा भने बढेको छ। यसमा बैंकहरुको मुख्य आम्दानीको स्रोत भन्दा पनि अन्य स्रोतबाट आएको रकमले मात्रै नाफा बढाएको प्रष्ट देखिन्छ।

आगामी दिनमा बैंकहरुको कर्जा लगानी बढ्ने हो भने मात्रै बैंकहरुको ब्याज आम्दानी बढ्ने र त्यसले बैंकहरुको नाफा बढाउने छ। कर्जा विस्तार अहिलेजस्तै सुस्त रहने हो भने आगामी त्रैमासहरुमा समेत आम्दानी बढ्न गाह्रो हुने बैंकरहरु बताउछन्।




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।