लगानी विविधिकरणमा विशेष ध्यान दिँदै नेपाल लाइफ इन्स्योरेन्सले जलविद्युत उत्पादन गर्ने कम्पनी मेवा डेभलपर्समा लगानी गर्ने निर्णय गरेको छ । नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा मेवा डेभलपर्समा लगानी गर्न लागिएको कम्पनीले जनाएको छ। मेवा डेभलपर्स मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजनाको प्रवर्द्धक हो। नेपाल लाइफले मेवा डेभलपर्सको अंकित मूल्य १०० रुपैयाँमा ५० लाख कित्ता शेयर खरिद गर्ने सम्झौता गरेको छ। जसअनुसार कम्पनीले मेवा डेभलपर्समा ५० करोड रुपैयाँ लगानी गर्नेछ। गत कात्तिक १ गते नेपाल लाइफ र मेवा डेभलपर्सबीच शेयर खरिद सम्झौता भएको थियो।
त्यसैगरी नेपाल लाइफले यसअघि शिक्षा क्षेत्रमा समेत १ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरिसकेको छ । यससम्बन्धी सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रोफेसनल एडुकेटर्सका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद ओझाले हस्ताक्षर गरेका थिए। कम्पनीले प्रोफेसनल एडुकेटर्समा ७३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ लगानी गरी ३५.३२ प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड रुपैयाँ लगानी गरी ४७.६२ प्रतिशत स्वामित्व प्राप्त गर्नेछ ।
शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्रप्रति योगदान पुग्न जाने उद्देश्यले लगानी गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बिमित ग्राहकबाट संकलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानमा लगानी गरिएको कम्पनीका प्रमुुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए । उनले जीवन बिमा बजारमा एक चौथाइ भन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको कम्पनीले लगानी विविधीकरणलाई केन्द्रविन्दुमा राखेको र यसैको सुरुवातस्वरूप शिक्षा क्षेत्रको लिडरका रूपमा स्थापित संस्थामा लगानी गरिएको बताएका थिए ।
गत आव २०८०।८१ को तथ्यांक अनुसार नेपाल लाइफले बीमा प्राधिकरणले तोकेको विभिन्न १३ वटा क्षेत्रमा गरेर २ खर्ब ३ अर्ब १४ करोड १२ लाख ३८ हजार रुपैयाँ लगानी रहेको छ ।
नेपाल बीमा प्राधिकरणले बीमा लगानी निर्देशिका जारी गर्दै बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, नेप्सेमा सुचीकृत कम्पनीको शेयर, घरजग्गा, बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिबेन्चर, बन्ड तथा ऋणपत्र, कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जा, नवीकरणीय ऊर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रशारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्न पाइने व्यवस्था गरेको छ।
सोही निर्देशिकाको अधिनमा रही बीमा कम्पनीहरुले विविध क्षेत्रमा लगानी गर्दै आएका छन् । परम्परागत रुपमा सबैभन्दा बढी लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेमा बीमा कम्पनीहरुले लगानी गरेका छन् भने शेयर बजारमा पनि केही प्रतिशत लगानी गरेका छन् । बीमा कम्पनीहरुले बीमा बाहेकका कम्पनीहरुको शेयर खरिद गर्न सक्ने प्रावधान रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सले बीमा प्राधिकरणमा पेश गरेको तथ्यांक अनुसार कम्पनीले नेप्सेमा सुचीकृत कम्पनीहरुको शेयरमा मात्रै २ अर्ब ८० करोड १८ लाख रुपैयाँ लगानी गरेका छन् । गत आवको असार मसान्तसम्म ५० अर्ब ५९ करोड ५७ लाख रुपैयाँभन्दा बढी रकम नेपाल लाइफले वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गरेका छन् ।
त्यस बाहेक सहायक कम्पनी स्थापना गरेर पनि नेपाल लाइफले लगानी गरेकाे छ । नेपाल लाइफले शत प्रतिशत स्वामित्वमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेकाे छ । कम्पनीको चुक्ता पुँजी १५ करोड ३० लाख रुपैयाँ रहेको छ । त्यसैगरी १५ करोड ३० लाख रुपैयाँ नै चुक्ता पुँजी रहेको नेपाल लाइफ क्यापिटल लिमिटेड नामक अर्को सहायक कम्पनी समेत स्थापना गरेका छन् । यसमा कम्पनीको ५१.०२ प्रतिशत शेयर स्वामित्व रहेको छ ।